काठमाडौँ, पुस १९ गते । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन १० गतेभित्र जिल्ला जिल्लामा मतपत्र पु¥याउने भएको छ । आयोगको नियमित प्रेस ब्रिफिङका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन १० भित्र मतपत्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा पु¥याइने बताउनुभएको हो । निर्वाचनका लागि आवश्यक अन्य सामग्री क्रमशः पठाइने उहाँले बताउनुभयो । प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट गर्नुपर्ने सामग्री खरिदको अख्तियारी आयोगले दिइसकेको छ ।

प्रेस ब्रिफिङमा प्रवक्ता भट्टराईले भन्नुभयो, “निर्वाचनका अन्य सामग्री र मतपत्रलाई हामी फरक फरक पठाउँछौँ । फागु्न १० गतेभित्र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा हामी मतपत्र पु¥याउँछौँ ।” आयोगले समानुपातिकतर्फको मतपत्रको प्रारम्भिक डिजाइन स्वीकृतसमेत गरिसकेको छ । सेतो कागजमा कालो मसीको प्रयोग गर्ने गरी प्रारम्भिक डिजाइन तयार भएको छ । राजनीतिक दलले बुझाएको बन्दसूचीमा कुनै हेरफेर नभएमा समानुपातिकमा ५८ वटा निर्वाचन चिह्न रहने छन् । प्रत्यक्षतर्फ भने मनोनयनपछि मात्र निर्वाचन क्षेत्रगत रूपमा मतपत्रको डिजाइन तयार र स्वीकृत हुने छन् । स्वीकृत ढाँचा अनुसार छपाइको काम अघि बढ्ने छ ।

आयोगले मतदाताभन्दा कम्तीमा पाँचदेखि बढीमा सात प्रतिशतसम्म बढी मतपत्र छाप्ने छ । आयोग प्रवक्ता भट्टराईका अनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सरदर दुई करोड मतपत्र छापिने छन् । आयोगका अनुसार मतपत्रका लागि कागज मौज्दात रहेकाले खरिद हुने छैन ।




