खासकुरा संवाददाता
हेटौँडा, पुस २० गते । नेकपा एमाले मकवानपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि मकवानपुरबाट आठ जनाको नाम सिफारिश गरेको छ ।
एमाले मकवानपुरको आइतबार हेटौँडामा बसेको जिल्ला कमिटी बैठकले दुई निर्वाचन क्षेत्रका लागि आठ जनाको नाम सिफारिश गरेको हो ।

बैठकले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट छ जना र क्षेत्र नम्बर २ बाट दुई जनाको नाम सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ का लागि केन्द्रीय सदस्य रामेश्वर राना, जिल्ला उपाध्यक्ष हिदम लामा, पूर्व सांसद कृष्णप्रसाद दाहाल, पूर्व राष्ट्रिय सभा सदस्य रामचन्द्र राई तथा जिल्ला सदस्यद्वय मदनकुमार दाहाल,र नारायणप्रसाद सापकोटाको नाम पार्टीको प्रदेश समितिलाई बुझाउने गरी सिफारिस गरेको छ ।

त्यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बा एमाले केन्द्रीय सदस्य एवं निवर्तमान सांसद महेश कुमार बर्तौला र संविधान सभा सदस्य सुवासचन्द्र ठकुरीको नाम सिफारिसमा परेको छ । जिल्ला कमिटीबाट सिफारिस भएका नाम प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने एमाले मकवानपुरले जनाएको छ ।




