पूर्व प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा

लोकप्रिय

काठमाडौं, पुस २० गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ । नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” मा भाग लिन उहाँ नयाँ दिल्ली पुग्नु  भएको हो ।

नेपाली समाज भारतका महासचिव आरबी खड़काका अनुसार   भारतभर रहनु भएका नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धता सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको छ । कार्यक्रममा उहाँले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर तथा एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गर्नु हुने बताइएको छ ।

भारतमा बसोबास गर्दै आएका नेपाली समुदायलाई एकताबद्ध गर्दै सामाजिक तथा राजनीतिक चेतनाको अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपाली समाज भारतले जनाएको छ । कार्यक्रम ५ जनवरी २०२६ (सोमबार) दिउँसो १ बजे नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियम, लाजपत नगरमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

ताजा समाचार

Related Articles