मकवानपुर, पुस २१ गते । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा मृत्यु भएका छ जनामध्ये चार जनाको पहिचान खुलेको छ । छ जनाकै हेटौँडा अस्पतालमा मृत्यु भएकोमा दुई जना मृतकको अझै पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले सुमोमा सवार घाइते तीनै जना घाइतेलाई उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगेको जानकारी दिनुभयो । मृत्यु हुनेमा भारतको बिहार राज्य पटनाका वर्ष ४२ का रजनिस कुमार, हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल, हेटौँडा २ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल र भारत बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार रहनुभएको छ ।

यस्तै, नाम, थर र वतन नखुलेको अन्दाजी ३६ वर्षीय र ४० वर्षीय पुरुष व्यक्तिलाई शरीरको विभिन्न भागमा चोट लागि उपचारका लागि अस्पताल ल्याइएकोमा डाक्टरले जाँच गर्दा आइतबार साँझ १९ः३५ बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ । दुर्घटनामा घाइते हुनेमा सुमो चालक हेटौँडा ४ कर्रा चोकका अन्दाजी ४५ का गणेश थापा, हेटौँडा ४ का १२ वर्षीय अभ्यास लम्साल र रौतहट चन्द्रपुर नगरपालिका २ की २१ वर्षीया रिचा चौधरी रहनुभएको छ ।

शरीरको विभिन्न भागमा चोट लागेका उनीहरुलाई आइतबार राति नै हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको ना१ज १७७८ नं. को सुमो गाडी भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डको जुरिखेतमा आइतबार साँझ दुर्घटना भएको हो । उक्त सुमो गाडी सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा रहेको छ ।




