काठमाडौँ, पुस २३ गते । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नौ जनालाई उम्मेदवार बनाएको छ। यसअघि पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले संसदीय समितिले सिफारिस गरेका उम्मेदवारलाई अनुमोदन गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजै बसेको संसदीय समितिको बैठकले उम्मेदवार मनोनयनको निर्णय गरेको र त्यसलाई कार्यसम्पादन समितिले अनुमोदन गरेको हो।

बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपाङ्गता–अल्पसङ्ख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला) तथा गण्डकी प्रदेशबाट जगत् तिमिल्सिना (अन्य) लाई उम्मेदवार कायम गरेको छ।

यसैगरी, लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली (अपाङ्गता–अल्पसङ्ख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजङ्ग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) लाई उम्मेदवार बनाइएको छ।




