हेटौँडा, पुस २३ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको छ ।
नेकपामा नेता खतिवडाले बुधबार हेटौँडामा पत्रकार सम्मेलन गरी प्रतिनिधि सभा सदस्यका लागि आगामी फागुनमा हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको हो ।
उहाँले गत भदौमा भएको जेनजी आन्दोलनलाई सम्मान गर्न र नयाँ अवसर दिनुपर्छ भन्ने मान्यताले उम्मेदवार नबन्ने भएको बताउनुभयो ।
दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको मकवानपुरमा नेकपा मकवानपुरले दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व स्वास्थ्यमन्त्री खतिवडाको नाम सिफारिस गरेको छ ।

उहाँले आफ्नो नाम दुवै क्षेत्रबाट सिफारिशमा परेको र आफूले निर्णय नगर्दा द्विविधा देखिएकोले अब आफूले उम्मेदवार नबन्ने निर्णयमा पुगेको बताउनुभयो ।
निर्वाचनमा जितहार हुन्छ, भदौमा भएको नयाँ पुस्ताको आन्दोलनको सम्मान आवश्यक छ, उहाँले भन्नुभयो अब नयाँ र युवा पुस्तालाई अवसर दिनुपर्छ ।
उहाँले पञ्चायतकालदेखि गणतन्त्रकालसम्मका छ निर्वाचनमा सहभागीभएकोमा चार वटा निर्वाचनमा जित प्राप्त गरेको भन्दै अब पार्टी सङ्गठन निर्माण र पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने बताउनुभयो ।

खतिवडा २०४३ सालमा तत्कालीन नेकपा मालेको तर्फबाट जनपक्षीय उम्मेदवार बनेर पराजित हुनुभएको थियो । २०४८, २०५१, २०५६ र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेबाट विजयी उहाँ पार्टी विभाजनसँगै नेकपा (एकीकृत समाजवादी) बाट २०७९ को निर्वाचनमा उम्मेदवार हुनुभएकोमा एमालेका महेश बर्तौलासँग पराजित हुनुभएको थियो ।
उहाँले निर्वाचनमा उम्मेदवार नबनेपनि राजनीतिमा भने सक्रिय रहने बताउनुभयो ।




