काठमाडौँ, पुस २४ गते । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी)को भर्ना आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन भनेको छ । एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरिने भएको हो ।
निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने छ । दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निर्वाचन प्रहरीमा नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहेको, आतङ्ककारी तथा विध्वंसात्मक सङ्गठनको सदस्य नरहेका व्यक्तिले फारम भर्न सक्ने छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी वा पूर्ववन रक्षक तथा सुरक्षा सङ्गठनमा गत माघदेखि यही पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण भएका व्यक्तिलाई निर्वाचन प्रहरीका रूपमा छनोट गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई निर्वाचन प्रहरीमा छनोट गरिने छ । सूचना अनुसार आगामी माघ ५ गतेदेखि ९ गतेसम्म आवेदकमध्येबाट प्रारम्भिक छनोट गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशित गर्ने कार्यतालिका रहेको छ । माघ १५ देखि २४ गतेसम्म निर्वाचन प्रहरीलाई तालिम तथा प्रशिक्षण दिइनेछ । निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति पाएको मितिले ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुनेछ । निर्वाचनको अवधिका आधारमा निर्वाचन प्रहरीको कार्यअवधि हेरफेर भएमा सोहीअनुसार हुने सूचनामा उल्लेख छ । निर्वाचन प्रहरी छनोटका लागि सरकारले निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ स्वीकृत गरिसकेको छ । 




