हेटौँडा, पुस २४ गते । साहित्य सङ्गम मकवानपुरको आयोजनामा हुने राष्ट्रिय पर्या कविता प्रतियोगिता २०८२ का लागि उत्कृष्ट कविता र कवि छनौट गरिएको छ ।
१६४ कवितामध्ये प्रतियोगिताकाको अन्तिम प्रतिस्पर्धाका लागि उत्कृष्ट १० कविता र कवि छनौट गरिएको हो ।

उत्कृष्ट कवि र कवितामा सुनसरीका किरन सिवाको मौन प्रकृति, मकवानपुरका किशन पौडेलको दोहन, तनहुँका नरोत्तम श्रेष्ठको विउको रक्तिम घोषणापत्र, सिन्धुलीका निरूपम श्रेष्ठको हरियो विद्रोह र कास्कीमा मदन घिमिरेको एक आरोहीको डायरी रहेको छ ।
यस्तै कैलालीका मोहित जोशीको समयको अन्त्यको किनारमा उभिएर, काठमाडौँकी यशोदा अधिकारीको धर्तिको विघटन, धादिङका राजु झल्लुप्रसादको तर, मकवानपुरका सुवास सजलको मौनधारण र लमजुङका सुरेशचन्द्र घिमिरेको प्रकृति र जीवन शीर्षकका उत्कृष्टमा परेको छ ।
प्रकृति जोडिएका कवितामध्ये उत्कृष्ट कविता छनौट गरिएको छ ।

उत्कृष्ट १० मा पर्न सफल कविहरूबिच यही शनिबार हेटौँडामा अन्तिम चरणको प्रतियोगिता हुने साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले जानकारी दिनुभयो ।
साहित्व सङ्गम मकवानपुरको ३९ औँ वार्षिकोत्सवका अवसरसमेत पारेर आयोजित राष्ट्रिय पर्याकविता प्रतियोगितासँगै नेपाली साहित्यमा पर्याचेतनाका बारेमा बहस गरिने भएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय २० हजार, तृतीय १० हजार र प्रोत्साहन पुरस्कार दुई जनाले जनही पाँच–पाँच हजार रुपियाँ प्राप्त गर्ने छन् ।




