मकवानपुर, पुस २४ गते । बागमती प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको बागमती प्रदेश विश्वविद्यालयको अवधारणा कार्यान्वयनसँगै अध्यापन सुरु गरिएको छ ।
संविधानले उच्च शिक्षा प्रदेशको एकल अधिकार सूचीमा रहने व्यवस्थाअनुसार बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालयका रुपमा बागमती प्रदेश विश्वविद्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

मुलुक सङ्घीय संरचनामा गएसँगै प्रदेश सरकारको अधिकारको प्रयोग गर्दै बागमती प्रदेश विश्वविद्यालयले अध्यापन सुरु गरेको हो । गत वर्ष वैशाखको अन्तिम साता प्रदेश विश्वविद्यालय सञ्चालन गर्न बागमती प्रदेश सरकारले बागमती प्रदेश विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेर विश्वविद्यालय सञ्चालनका लागि प्रक्रिया सुरु गरेको थियो ।
बागमती प्रदेशभित्र सञ्चालनमा रहेका क्याम्पसहरूलाई आङ्गिक क्याम्पसको रूपमा समायोजन गरी अध्यापन सुरु गरेको विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेशभित्रका छ वटा सामुदायिक क्याम्पस बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा सञ्चालन बागमती प्रदेश सरकारबाट स्वीकृति पाएकोमा पाँच वटा क्याम्पसमा अध्यापन सुरु गरिएको छ ।

काठमाडौँको जनमैत्री बहुमुखी क्याम्पस र कपन बहुमुखी क्याम्पस, चितवनको भुवानी शङ्कर क्याम्पस र माडी क्याम्पस तथा काभ्रेपलाञ्चोकको चैतन्य बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने गत मङ्सिर ९ गते बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार हेटौँडाको हेटौँडा क्याम्पस बाहेकका पाँच वटा साुमदायिक क्याम्पसलाई प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पस रुपमा सञ्चालन गर्न विश्वविद्यालय संरक्षक समितिले निर्णय गरी सम्झौता गरेको थियो ।
हेटौँडा क्याम्पससँग संरक्षक समितिले सम्झौताका लागि निर्णय प्रक्रियामा रहेको छ केही दिनमा निर्णय र सम्झौता हुने छ, उपाध्यक्ष सुवेदीले भन्नुभयो अन्य क्याम्पससँगै उक्त क्याम्पसका प्राध्यापकहरु पनि अभिमुखीकरण कार्यक्रममा सहभागी छन् सम्झौता लगत्तै अध्यापन सुरु हुने छ ।
बिबिए, बिआइटी र बिएड विषय अध्यापन सुरु गरिएका यी क्याम्पसहरुमा ३६० भन्दा बढी विद्यार्थी भर्ना भएर अध्ययन सुरु गरेका छन् ।
बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पस बन्न सम्झौता भएसँगै ती सामुदायिक क्याम्पसहरु त्रिभुवन विश्वविद्यालयसँग अलग हुने प्रक्रियासमेत सुरु भएको छ ।
हाल क्याम्पसमा अध्यापनरत क्याम्पसका प्राध्यापकहरुलाई विषय मिल्नेको हकमा एक वर्षे करार सम्झौतामा राख्ने र कर्मचारीलाई छ महिने करारमा राखिने उपाध्यक्ष सुवेदीको भनाई छ ।




