हेटौँडा, पुस २६ गते । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौँडाका संस्थापक अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले सेवालाई मूल मर्म बनाएर सहकारी संस्थाले काम गर्नुपर्ने बताउनुभएको छ ।
दिव्यताराको २७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सहकारीको मर्म अनुसार काम गर्न अनुरोध गर्नुभयो । ग्रामीण क्षेत्रका सर्वसाधारणको सहजताको लागि संस्था खोलेको स्मरण गर्दै उहाँले भन्नुभयो, युवाहरुलाई स्वरोजगार बनाउनुका साथै ग्रामीण क्षेत्रको आर्थिक विकासका लागि तीन दशक अघि दिव्यतारा सुरु गरिएको हो ।

’यो अविचलित रुपमा अघि बढेको संस्था हो । संस्था डुब्यो भनेर अनावश्यक हल्ला फैलाउनेहरु पनि न आएका होइनन्’, उहाँले भन्नुभयो,’संस्थालाई अझ सफल बनाउने हाम्रो प्रयासले सार्थकता पाउनेमा हामी विश्वस्त छौ, यसमा सबै शेयर सदस्यको सहकार्य, समन्वय र सहयोग आवश्यक छ । संस्था डुब्दैन, डुब्न दिइने छैन ।’ आर्थिक मन्दी, आन्दोलनलगायतका कारण अझ सोचेको जस्तो काम गर्न सकिएको छैन ।
उहाँले अब योजनाबद्ध काम गर्न नयाँ कार्यसमितिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा.गणेशबहादुर बल लामाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका निवर्तमान उपप्रमुख पार्वती शाह, सहकारीका सचिव ईश्वर पण्डितलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा विधागत उत्कृष्ट ऋणी तथा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । मासिक वचततर्फ मदन थापा मगर, खुत्रुकेतर्फ सुप्रीया सिंह बानियाँ, दैनिक वचततर्फ दर्शन फुयाँल, ज्येष्ठ नागरिक वचततर्फ सुशिला पाण्डे र उत्कृष्ट ऋणीतर्फ गंगा घले गुरुङलाई सम्मान गरिएको थियो । एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीमध्ये सफल ढकाल, अर्पणा पोखरेल, दिशिका कंडेल र अनुप्रस्था देवकोटालाई नगद ३ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।




