मकवानपुरमा चुनावी चहलपहल सुरु

लोकप्रिय

हेटौँडा, पुस ९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरू मकवानपुरका गाउँगाउँमा मतमाग्न पुगेपछि त्यहाँ चुनावी चहलपहल पनि प्रारम्भ भएको छ । विभिन्न पार्टीका स्थानीय मात्र होइन केन्द्रीय तहका नेता घरदैलो गर्न थालेसँगै गाउँबस्ती गुलजार भएका छन् । आफ्ना आन्तरिक बैठक र छलफलसँगै मतदाताका घरआँगनमा आफूहरु उम्मेदवारका साथ पुगेको नेपाली कांग्रेस हेटौँडा नगरसमितिका सभापति उत्सव इटेनीले बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी मकवानपुरका नेता सर्केश घलान पनि दलका नेता कार्यकर्ताका साथ उम्मेदवार गाउँगाउँ पुगेकाले निर्वाचनको वातावरण बनेको उहाँले बताउनुभयो । मकवानपुरमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । दुवै निर्वाचन क्षेत्रमा पुराना र नयाँ उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय, नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रकाश गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निवर्तमान सांसद दीपकबहादुर सिंह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठसहित २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट महेशकुमार बर्ताैला, कांग्रेसबाट बुद्ध लामा, नेपाली कम्युनिष्ट पार्टीबाट लवशेर विष्ट, रास्वपाबाट प्रशान्त उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट र श्रम संस्कृति पार्टीबाट युनिश लामासहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य पाँच गरी कूल तीन लाख १५ हजार ३३४ जना मतदाता कायम छन् ।

ताजा समाचार

Related Articles