खासकुरा संवाददाता
हेटौँडा, पुस ९ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक पार्टी परित्याग र प्रवेशको क्रम सुरु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, मकवानपुरमा एक दशकभन्दा लामो समयदेखि जिल्ला नेतृत्वमा रहेकाहरुले पार्टीमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् ।

राप्रपाका जिल्ला कोषाध्यक्ष गोपीप्रसाद न्यौपाने, राप्रपा जिल्ला सल्लाहकार महेन्द्र ईटेनी र कृष्णहरि पौडेललगायतकाले पार्टी परित्याग गर्नुभएको हो ।
राप्रपा मकवानपुरका जिल्ला निर्वाचन समिति संयोजकसमेत रहनु भएको ईटेनीले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार लेख्दै आफूसहितका जिल्ला नेतृत्वले पार्टी परित्याग गरेको जनाउनुभएको छ । पार्टीलाई महत्वपूर्ण सहयोग गर्दै आएका पार्टीका कार्यकर्ता साथीहरूले पार्टी नेतृत्वको फटाई, छलछाम र गैरजिम्मेवारीपूर्ण क्रियाकलापका कारणले गर्दा असन्तुष्टि उत्पन्न भएर पार्टी परित्याग गरिएको फेसबुकमार्फत जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको सदस्यता राप्रपा मकवानपुरका जिल्ला काबा अध्यक्ष सागर थापालाई बुझाई आजैका मितिबाट (शुक्रबारबाट) पार्टीको साधारण सदस्य पनि नरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछौँ विज्ञप्तिमा उल्लेख छ ।
साथै लामो समयसँग पार्टीमा सँगै काम गरेको गाउँ तथा जिल्ला तहका साथीहरूलाई विज्ञप्तिमार्फत धन्यवाद ज्ञापन गरिएको छ ।




