कान्ति लोकपथ निर्माण सुरुभएको सत्तरी वर्षमा पचहत्तर प्रतिशत काम

लोकप्रिय

काठमाडौँ, माघ ११ गते । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण सात दशकमा समेत सम्पन्न हुन सकेको छैन । यस लोकपथको निर्माण काठमाडौँ–वीरगन्ज जोड्ने त्रिभुवन राजपथको विकल्पका रूपमा २०१३ सालबाट सुरु भएको हो । यो लोकपथलाई काठमाडौँ–हेटौँडा जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग मानिन्छ ।

कुल ७९ किलोमिटर लम्बाइ रहेको मुलुककै पुराना सडक आयोजनामध्येको सो लोकपथको निर्माण सात दशकमा ७५ प्रतिशत सम्पन्न भएको छ । नेपाली सेनाले २०१३ सालदेखि २०१६ सम्म यसको ट्र्याक खोली निर्माण सुरु गरेको थियो । निर्माण सुरु भएदेखि हरेक वर्ष एक किलोमिटरका दरले पनि काम सम्पन्न गरेको भए अहिलेसम्म यस लोकपथको काम सम्पन्न भइसक्थ्यो तर यो सडक आयोजनाले मुलुकको पूर्वाधार विकासको गतिलाई गिज्याइरहेको छ । यो लोकपथको निर्माण सुरु भएका बेला जन्मेका बच्चा अहिले वृद्ध भइसकेका छन् तर यसको निर्माण सम्पन्न हुन सकेन । कान्ति लोकपथ आयोजनाका इन्जिनियर राजन पाण्डेले आयोजनाको तीन तिहाइ काम सम्पन्न भइसकेको बताउनुभयो । विकास बजेटको अभाव तथा प्राकृतिक कारणले यस आयोजनाको काम सम्पन्न हुनमा ढिलाइ भएको बताउँदै आगामी आर्थिक वर्ष (२०८३/८४) सम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल ७९ किलोमिटर लम्बाइ रहेको यस लोकपथको अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । कालोपत्र गर्न बाँकी रहेको ठाउँमा अहिले एक लेनको मात्र सडक छ । चट्टान काटेर त्यहाँ दुई लेनमा स्तरोन्नति गर्नु पर्छ । त्यही भएर दुरी कम भए पनि भौगोलिक कठिनाइका कारण काम सम्पन्न गर्न समय लाग्ने देखिएको छ । उहाँले भन्नुभयो, “यस लोकपथको सडक सीमा निर्धारण नगरिएकाले सडक सीमाभित्र घर/टहरा, रुखबिरुवा, बिजुलीका खम्बा, खानेपानी, ढलका पाइपलगायत ‘युटिलिटी’ का सामग्री रहनुका साथै लोकपथको निर्धारित क्षेत्रभित्र नै ढुङ्गा, बालुवालगायतको उत्खननको समस्या छ ।”

ताजा समाचार

Related Articles