हेटौँडा, माघ १२ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कलङ्की सडक खण्डबाट आइचर गाडी इन्द्रसरोवर तालमा खसेको छ ।
कलङ्कीबाट मार्खुतर्फ जाँदै गरेको बा ३ ख ३९५४ नम्बरको मिनरल वाटर खानेपानी बोकेको आइचर गाडी शनिबार पानी झार्ने क्रममा अचानक अगाडि बढ्न गई सडकबाट इन्द्रसरोवर तालमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । उक्त गाडी सडकबाट करिब १५ मिटर तल खसेको हो ।

हाल आइचर गाडी तालको पानीमा डुबेर बाहिर नदेखिने अवस्थामा रहेको र निकाल्न आवश्यक पहल भइरहेको प्रहरीको भनाई छ । दुर्घटनामा मानवीय क्षति भएको छैन ।
प्रहरीका अनुसार आइचर गाडीका चालक गोरखा सुलिगढ नगरपालिका–१ का २१ वर्षीय सुजन परियार र सह–चालक मकवानपुर मकवानपुरगढी गाउँपालिका–३ का १८ वर्षीय सुजन जिम्बा रहनुभएको छ ।




