काठमाडौँ, माघ १२ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत निर्वाचन आयोगले आचारसंहिता पालना र सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गरी हुने प्रचारप्रसारको पूर्ण रुपमा निगरानी गरिरहेको छ । निर्वाचनका समयमा प्रवाह हुने मिथ्या, भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति निरुत्साहित र नियन्त्रण गर्न प्रभावकारी अनुगमन भइरहेको आयोगले जनाएको छ ।

निर्वाचनका समयमा प्रवाह हुने मिथ्या, भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति निरुत्साहित र नियन्त्रण गर्न निरन्तर अनुगमन भइरहेको आयोगका सह सचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रचारप्रसारको क्रममा दल र उम्मेदवारले आचारसंहिता विपरीत कार्य गरेको पाइएमा सम्बन्धित निकाय र स्वयम् व्यक्तिलाई समेत आयोगले स्पष्टीकरण साध्ने गरेको छ ।

सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा गलत तथा भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो, प्रेस काउन्सिल नेपाल, र आयोगको केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिमा पठाएको समेत निर्वाचन आयोगले जानकारी गराएको छ ।




