मकवानपुर, माघ २१ गते । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराइने भएको छ ।
ईन्द्रसरोवर गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच पालिकाभित्रका स्वरोजगारमा रहेका व्यक्ति र अनौपचारिक (कृषि) क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउने गरी सम्झौता गरिएको हो ।
यो सम्झौतासँगै पालिकामा अनौपचारिक क्षेत्र (कृषि) क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम पालिकामा कार्यान्वयन हुने गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिनुभयो ।

उहाँले यो कार्यक्रम कार्यान्वयन गर्न पालिकाले चालु आवमा सात लाख रुपियाँ बजेट विनियोजन गरेको बताउनुभयो ।
गाउँपालिकाको रोजगार सेवा केन्द्रका रोजगार संयोजक नानीमाया घलानले चालु आवमा ५० जनालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रममा आवद्ध गराउने योजना रहेको बताउनुभयो ।
संयोजक घलानले भन्नुभयो चालु आवमा अनौपचारिक क्षेत्र (कृषि) क्षेत्रमा रहेका श्रमिकलाई प्राथमिकतामा राखेका छौँ आगामी आवमा अन्य क्षेत्रलाई क्रमशः समेट्दै जाने नीति छ ।
नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको सम्बन्धित श्रमिकको ११ प्रतिशत र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको तर्फबाट गाउँपालिकाले ९.३७ प्रतिशत थप गरी २०.३७ प्रतिशत रकम मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ ।

सरकारले न्यूनतम आधारभूत पारिश्रमिक हाल १२ हजार १७० रुपियाँ तोकेको छ । उक्त रकममा अनौपचारिक क्षेत्रका श्रमिकको एक हजार ३३८ रुपियाँ ७० पैसा र गाउँपालिकाको तर्फबाट एक हजार १४० रुपियाँ ३३ पैसा गरी कूल दुई हजार ४७९ रुपियाँ तीन पैसा मासिक रुपमा सामाजिक सुरक्षा कोषमा जम्मा गरिने छ ।
कोषमा योगदानपछि कोषबाट सञ्चालित विभिन्न योजनाहरुमा श्रमिक सहभागी हुने छन् ।
पालिकाले कार्यक्रममा सहभागी हुन आवेदन माग गर्दै एक घर परिवारको एक जनाले मात्र आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
पालिकाका संयोजक घलानले वडाको सिफारिशसहितको आवेदन आएपछि छनोट समितिले आवश्यक रुजु गरी सूचीकृत श्रमिकको अन्तिम नामावली प्रकाशित गरिने बताउनुभयो ।




