हेटौँडा, फागुन २ गते । ‘तिल गङ्गा गोविन्द स्मृति प्रोत्साहन छात्रवृत्ति २०८२’ मकवानपुरको भीमफेदीस्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा एन्जल घिसिङलाई प्रदान गरिएको छ ।
कवि तथा गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ले आफ्नी आमा तिलकुमारी, फुपू गङ्गा देवी तथा पिता गोविन्द प्रसादको स्मृतिमा स्थापना गर्नुभएको छात्रवृत्ति कक्षा १२ मा अध्ययनरत घिसिङलाई प्रदान गरिएको हो ।
आफू जन्मिएको गाउँ भीमफेदीस्थित झण्डै आठ दशक पुरानो उक्त विद्यालयकी छात्रा घिसिङलाई २५ हजार ५५५ रुपियाँ नगद राशिसहितको यसै वर्ष स्थापित प्रोत्साहन छात्रवृत्ति विद्यालयको सिफारिसमा प्रदान गरिएको छात्रवृत्तिका संस्थापक पौडेलले जानकारी दिनुभयो ।

पौडेलले आफू भीमफेदी पुत्र भएकोले भीमफेदीप्रति अगाध स्नेहका कारण छात्रवृत्ति स्थापना गरिएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठले विद्यालयको शैक्षिक गतिविधि, भौतिक संरचना र विद्यार्थीहरूको क्रियाकलापका बारेमा जानकारी गराउनुभएको थियो ।
छात्रा घिसिङले प्रोत्साहन बापत प्राप्त रकम शैक्षिक कार्यमै खर्च गर्ने भन्दै सहयोगले आफूलाई थप हौसला मिलेको र अध्ययनलाई निरन्तरता दिने बताउनुभयो ।




