ललितपुर, फागुन २ गते। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशको भविष्य कांग्रेससँग जोडिएको बताउनुभएको छ। उहाँले नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जनताको आदेशलाई शिरोधार्य गर्ने बताउनुभएको छ।

प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै प्रवक्ता चालिसेले पार्टीले वर्तमानको समीक्षा गर्दै भरपर्दो भविष्य लिएर जनतामा जाने बताउनुभयो। “सुधारिएको देश र जनमैत्री प्रशासनका विषयवस्तु नै प्रचारप्रसारका विषय हुनेछन्, सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा फरक हुन्छ,” उहाँले भन्नुभयो।

प्रवक्ता चालिसेले सुधारिएको कांग्रेसबाट जनताले गरेको अपेक्षालाई कसरी सम्बोधन गर्दै सच्चिनु र सुध्रिनु पर्छ भनेर पार्टीले धारणा बुझ्ने प्रयास गरिरहेको बताउनुभयो। प्रचारप्रसारका गतिविधिबारे नियमित रुपमा जानकारी गराइने उल्लेख गर्दै उहाँले पार्टीको विषयमा विचार–विमर्श गर्दै जाने बताउनुभयो। यही फागुन ६ गते जनकपुरमा पार्टीले जनसभा आयोजना गर्ने प्रवक्ता चालिसेले जानकारी दिनुभयो। कांग्रेससँगका अपेक्षा बुझ्न डबली कार्यक्रममार्फत कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ थियो।




