हेटौँडा, फागुन ३ गते । नेकपा एमाले मकवानपुर आसन्न प्रतिनिधि सभा निर्वाचनमा जित आफ्नो पक्षमा ल्याउन निर्वाचन प्रचार कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
एमालेको निर्वाचन परिचालन सचिवालयको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्वाचन परिचालनका प्रचार प्रमुख नवीन सिग्देलले बैठकले मकवानपुर जिल्लाको दुवै क्षेत्रमा पार्टीको दुवै उम्मेदवारको जीत सुनिश्चित रहेको निष्कर्ष निकाल्दै प्रचार कार्यलाई थप प्रभावकारी बनाईनु पर्ने निर्णय गरिएको बताउनु भयो ।
उहाँले विगतका निर्वाचनमा पार्टीको उम्मेदवारले प्राप्त गरेको मतलाई सुरक्षित गर्न र फरक चुनौतीलाइ सामना गर्न सबै नेता र कार्यकर्ता चनाखो हुनपर्नेमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

उम्मेदवारहरू कार्यकर्ता र मतदाता समक्ष पुग्दा अत्यन्तै उत्साहप्रद रहेको भन्दै यसअघि सञ्चालित उम्मेदवारसँग अगुवा कार्यकर्ता भेला १०२ वटा वडामा सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पर्क कार्यालय वडा तहसम्म स्थापना गरेको, पार्टी र जनसंगठनमा निर्वाचन परिचालन कमिटीहरू निर्माण भएको निर्वाचन परिचालन कमिटीका सचिव हिदम लामाले जानकारी दिनुभयो । बैठकमा निर्वाचन परिचालन मतदातासंगको जनसम्वाद, प्रचार प्रसार, स्वयम् सेवक परिचालन, आर्थिक व्यवस्थापन र घोषणा पत्र निर्माणबारे छलफल भएको छ ।

बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा १ नं. क्षेत्र निर्वाचन परिचालन संयोजक एकालाल श्रेष्ठ, २ नं. क्षेत्र निर्वाचन परिचालन सहसंयोजक राजाराम स्याङ्तान, केन्द्रीय लेखा आयोगका सदस्य तथा निर्वाचन प्रचार प्रसार संयोजक नवीन सिग्देल, प्रतिबद्वता पत्र तयार समिति संयोजक अनन्तप्रसाद पौडेल, आर्थिक व्यवस्थापन समिति संयोजक गोपाल श्रेष्ठलगायतले बैठकमा यो अवधिमा भएका निर्वाचन तयारीको बारेमा जानकारी गराउनुभएको थियो ।
क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहनुभएको केन्द्रीय सदस्य एवं जिल्ला निर्वाचन परिचालन समितिको संयोजक रामेश्वर रानाको अध्यक्षतामा भएको बैठकमा निर्वाचन परिचालन समितिका अनुगमन समितिका संयोजक डोरमणि पौडेलले पार्टीप्रति विपक्षीले फैलाएको सबै भ्रमलाई मतदाताको बीच चिर्दै लोकतन्त्र स्थापना, संविधान निर्माण, मुलुकमा शान्ति स्थापना, मुलुकको विकास र समृद्विका लागि निर्वाह गरेको भूमिकाबारे सबै नेता र कार्यकर्ता एकजुट भएर जनतामा प्रभावकारी रूपमा लैजान निर्देशन दिनुभएको थियो ।




