खासकुरा संवाददाता
हेटौँडा, फागुन ५ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सरकार आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक समन्वय र सहयोग गर्न तयार बताउनुभएको छ ।
निर्वाचन आयोग नेपाल र नेपाल कानून समाजद्वारा मङ्गलबार हेटौँडामा आयोजित निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम उहाँले लोकतन्त्रको स्थायित्व र संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन अनिवार्य रहेको बताउनुभयो ।
उहाँले आफू र प्रदेश सरकार निर्वाचन आचारसंहिता पालनाप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको भन्दै निर्वाचनमा बढ्दो सुरक्षा चुनौती प्रति निर्वाचन आयोग र सुरक्षा निकायले संवेदनशीलता अपनाउनुपर्ने बताउनुभयो ।
निर्वाचन चाहने र नचाहने पक्षबिच द्वन्द्व छ उहाँले भन्नुभयो, सुरक्षा चुनौती बढेकोले सुरक्षा निकाय सचेत हुनु आवश्यक छ ।

निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त सगुन शम्शेर जबराले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने बताउनुभयो ।
उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही हुने भन्दै निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग चुनौती बनेको बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा आयोगका सहसचिव राजेन्द्र केसीले निर्वाचन आचारसंहिताका सवालमा सरोकारवालाहरुको भूमिका र मधेश प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता सुरेन्द्रकुमार महतोले निर्वाचन खर्च व्यवस्थापनका बारेमा प्रस्तुतीकरण गनुभएको थियो ।
कार्यक्रममा चारवटै सुरक्षाका निकाय, तीनै तहका सरकारका प्रतिनिधि, विभिन्न सङ्घसस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।




