काठमाडौँ, फागुन ८ गते ।आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी गराइएको हो ।

आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगका प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो ।

मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ ।




