हेटौँडा, फागुन १८ गते । हेटौँडामा भएको सवारी दुर्घटनामा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको मृत्युभएको छ । पिकअप गाडीको ठक्करबाट घाइते हुनुभएका रौतहट फतुवा विजयपुर नगरपालिका–७ का पवन साहको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।

गत बिहीबार बिहान २स्४५ बजे हेटौँडा उपमहानगरपालिका–८, कर्रा पुल नजिक पूर्व–पश्चिम सडकखण्डमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ च १५६५ नम्बरको पिकअप गाडीले साहलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत २४ वर्षीय साहको पुरानो मेडिकल कलेज, चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले पिकअप चालक रौतहट चन्द्रपुर नगरपालिका–८ का २५ वर्षीय अर्जुन चौधरीलाई नियन्त्रणमा लिएको छ ।




