मकवानपुरको सबै मतदानस्थलमा पुगे कर्मचारी

लोकप्रिय

हेटौँडा, फागुन १९ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी निर्वाचन सामग्रीसहित पुगिसकेको छन् ।
दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्बर १ मा ६२ र क्षेत्र नम्बर २ मा १०५ गरी १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र भीमफेदी कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँले निर्वाचनमा खटिएका सबै अतदान अधिकृतलगायतका कर्मचारीहरु मतदान स्थलमा पुगेर आवश्यक तयारी थालेको बताउनुभयो ।
मतदान स्थलमा सोमबार नै निर्वाचन आवश्यक तयारीको क्रममा सूचना टाँसलगायतका तयारी सुरु गरेका छन् उहाँले भन्नुभयो, मङ्गलबार सर्वदलीय बैठक बसेर आवश्यक तयारीसँगै मतदान स्थल निर्माणका लागि घेराबारसहितको तयारी गरिने छ ।
२० गते मतदान केन्द्र निर्माण कार्यतालिका छ । फागुन २१ गते निर्वाचन हुनेछ ।
निर्वाचन क्षेत्र नम्बर २ को मकवानपुरगढी गाउँपालिका ६ डुम्रेकुनास्थित जालपादेवी मावि मतदान केन्द्रका मतदान अधिकृत वसन्तराज गौतमले मङ्गलबार निर्वाचनस्थलमा सूचना टाँसलगायतका तयारी गरिएको बताउनुभयो ।
निर्वाचनमा आवश्यक मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका सामग्रीसहित सुरक्षाकर्मी, मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन्।
नगर आसपासका केही स्थानमा मतपत्र मङ्गलबार पठाइएको छ ।
जिल्लामा अति संवेदनशील, संवेदनशील र मतदान केन्द्र सामान्य रूपमा वर्गीकरण गरी सुरक्षा व्यवस्था गरिएको छ ।
सबै मतदान केन्द्रमा सुरक्षा निकाय परिचालन भइसकेको छ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित तयारी गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
निर्वाचनमा दुई हजार २४४ कर्मचारी खटिने छन् ।

ताजा समाचार

Related Articles