हेटौँडा, फागुन २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर- २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती र एमालेका वर्तौलाबिच पाँच हजारको मतान्तर रहेको छ ।
यहाँ मनहरी, राक्सिराङ्ग, कैलाश, भीमफेदी, मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकाको मतगणना सम्पन्न भएको हो ।
हालसम्म ६६ हजार ३४८ मत गणना हुँदा उप्रेतीले १८ हजार ९१९ प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश कुमार वर्तौलाले १४ हजार ४८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाली काङ्ग्रेसका बुद्ध लामाले १२ हजार ६१४ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का लवशेर बिष्टले १० हजार २६० मत प्राप्त गर्नुभएको छ । हाल सम्मको मत गणना अनुसार यहाँ ४ हजार २१२ मत बदर भएको छ । यहाँ कुल ९१ हजार २४१ मत खसेको थियो । हाल यहाँ करिब २५ हजार मत गणना बाँकी रहेको छ ।



