मकवानपुर, फागुन २६ गते । जिल्ला सुरक्षा समिति, मकवानपुरले प्रतिनिधि सभा निर्वाचनलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गरेकोमा आभार व्यक्त गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी एव जिल्ला सुरक्षा समिति, मकवानपुरका अध्यक्ष वसन्त अधिकारीले फागुन २१ गते मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण सम्पन्न भएको भन्दै सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभएको हो ।

प्रजिअ अधिकारीले मङ्गलबार आभारपत्र जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन तथा निर्वाचन आयोगबाट निर्धारित आचारसंहिता पालना गर्न, गराउन मतदातालगायतबाट विशेष भूमिका निर्वाह भएको बताउनुभएको छ ।
उहाँले निर्वाचन मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दलहरू, उम्मेदवारहरू, जनप्रतिनिधिहरू, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू, प्रदेश निर्वाचन अधिकारी, निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू, सुरक्षाका चार वटै निकाय, कर्मचारीलगायत सरोकारवालामा धन्यवादसहित आभार व्यक्त गर्नुभएको छ ।




