हेटौँडा, फागुन ३० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा वर्चस्व राख्दै आएका नेपाली कांग्रेस र वामपन्थी दलको यस पटकको निर्वाचनमा वर्चस्व गुमेको छ । बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले एक÷एक क्षेत्रमा जिल्ला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ३१ वटा क्षेत्रमा विजयी भएका छन् । यस पटक नेकपा (एमाले) शून्यमा झरेको छ ।
यस पटकको निर्वाचनमा रसुवामा कांग्रेसका मोहन आचार्य र सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा नेकपाका युवराज दुलालबाहेक प्रदेशका अन्य निर्वाचनमा रास्वपाका उम्मेदवारले जित हासिल गरेका छन् । काठमाडौँका १०, ललितपुर र चितवनका तीन÷तीन तथा दुई/दुई निर्वाचन क्षेत्र रहेको मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुलीे, धादिङ, भक्तपुर र नुवाकोटमा यस पटक रास्वपाले क्लिन स्विप गरेको छ । यस्तै दोलखा रामेछाप र सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ पनि रास्वपाकै उम्मेदवार निर्वाचित भएका छन् ।

२०७४ को आमनिर्वाचनमा एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) ले गठबन्धन गर्दा यस प्रदेशमा एमाले २० र माओवादी केन्द्रले सात वटा निर्वाचन क्षेत्रमा जितेको थियो । वाम गठबन्धनका बिच कांग्रेसले रसुवा र काठमाडौँका चारसहित पाँच वटा निर्वाचन क्षेत्रमा जितेको थियो । भक्तपुरको एक निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी भएका थिए ।
२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र तत्कालीन नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरेर आमनिर्वाचनमा प्रतिस्पर्धा गर्दा एमाले यस प्रदेशमा चार वटा निर्वाचन क्षेत्रमा खुम्चिन पुगेको थियो । गठबन्धन गरेको कांग्रेसले काठमाडौँका पाँच क्षेत्रसहित १३ वटा निर्वाचन क्षेत्रमा, माओवादी केन्द्रले पाँच र नेकपा एकीकृत समाजवादी एक क्षेत्रमा विजयी भएको थियो । पार्टी स्थापना भएको छोटो समयमा नै निर्वाचनमा गएको रास्वपाले काठमाडौँमा पाँच र चितवनमा दुई गरी सात क्षेत्रमा जितेर स्थापित भएको थियो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले चितवन र मकवानपुरमा गरी दुई निर्वाचन क्षेत्रमा जित निकालेको थियो । नेमकिपाका उम्मेदवार विगतमा झै भक्तपुरको एक निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।
२०८२ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा आइपुग्दा कांग्रेस र वामपन्थी दलहरु एक निर्वाचन क्षेत्रमा सीमित भएको मात्र होइन कम्युनिस्ट पार्टीको परम्परागत किल्ला र गढसमेत भत्किएको छ । नेमकिपाको २०४८ देखिको गढ तोढिएको छ । राप्रप्रपाका उम्मेदवार धरौटी जोगाउन पनि असमर्थ भएका छन् ।
वामपन्थी दलको लामो समयदेखिको मकवानपुर, दोलखालगायतका जिल्लामा रहेको विरासत यस पटक तोड्दै गैरवामपन्थी दल रास्वपका उम्मेदवार विजयी भएका छन् ।




