काठमाडौँ, फागुन ३० गते । गोरखाबाट मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको विद्युतीय गाडी दुर्घटना हुँदा मृत्यु हुने यात्रुको संख्या ७ पुगेको छ। मृत्यु हुने सातै जना भारतीय नागरिक भएको पुष्टि भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन्। आँबुखैरेनी नजिकै शनिवार राति करिब ८ बजे दुर्घटना भएको हो ।

सहिद लखन गाउँपालिका–३ कनटारमा बा प्र०१-००६ ख ८४३० नम्बरको इभी माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरतबहादुर विकले जानकारी दिनुभयो । घाइतेहरुको उद्धार गरी आँबुखैरेनी अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटनाग्रस्त माइक्रोबसमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त उहाँले बताउनुभयो । घाइते तथा मृतकको पहिचान हुन भने बाँकी रहेको छ ।

सडकबाट करिव २०० मिटर तल माइक्रो खसेको प्रहरीले जनाएको छ। गाडीमा १५ जना सवार थिए। घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने एक गम्भीर घाइतेलाई भरतपुर रेफर गरिएको छ। ओरालो बाटोमा गाडी तातेर ब्रेक फेल भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




