हेटौँडा, चैत १ गते । मकवानपुरको क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतीले पाँच वर्षभित्र आफूले नगर्ने वाचापत्र सार्वजनिक गर्नुभएको छ ।
निर्वाचनमा विजयी भएपछि उप्रतीले आउँदो पाँच वर्ष आफूले नगर्ने काम र ती काम लिएर नआउन भन्दै प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।
यसअघि जितेकाले अनेक आश्वासन बाढ्दै आएकोमा २५ वर्षीय उप्रेतीले आफूले नगर्ने कामसहित भनसुनका नआउन मतदातासमक्ष सार्वजनिक रुपमा आग्रह गर्नुभएको हो ।
उहाँले सुशासन र विधिको शासन स्थापना गर्न मत मागेका भन्दै यसलाई व्यवहारमा उतार्न म आफैँबाट सुरुवात गर्न लागेको बताउनुभयो ।
उहाँले १३ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै आउँदो पाँच वर्षसम्म सुशासनको पक्षमा काम गर्न आफूलाई साथ दिने विश्वास व्यक्त गर्नुभएको छ ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य उप्रेतीले क्षमता र प्रणालीमा विश्वास व्यक्त गर्दै नातागोता, चिनजान वा राजनीतिक पहुँचको आधारमा जागिर, सरुवा वा बढुवाका लागि सिफारिसको अपेक्षा नगरिदिनुहुन अनुरोध गर्नुभएको छ । अवसरहरू क्षमता र योग्यताका आधारमा मात्र वितरण हुनुपर्छ भन्ने मेरो मान्यता छ उहाँले भन्नुभयो ।
छात्रवृत्तिमा समान हक लाग्ने छ, शैक्षिक संस्थामा भर्ना तथा छात्रवृत्तिका लागि भनसुन नगरिदिनु होला, यस्ता अवसरहरू वास्तविक हकदार, गरिब तथा जेहेन्दार विद्यार्थीले नै पाउनुपर्छको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
ठगी, जालसाजी, कुटपिट, चोरी वा लागूऔषध जस्ता कुनै पनि आपराधिक तथा गैर कानुनी कार्यमा संलग्नलाई उन्मुक्ति दिलाउन वा कानुनी कारबाहीबाट बचाउन मबाट कुनै पहल हुने छैन, कानुनभन्दा माथि कोही हुँदैन उहाँले भन्नुभएको छ, ट्राफिक नियमको नियम उल्लङ्घन गर्दा हुने कानुनी कारबाहीबाट बच्नका लागि मबाट ’सोर्स–फोर्स’ वा सिफारिसको अपेक्षा नराखिदिनुहोला ।
महिला, दलित, यौनिक अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिलगायत कुनै पनि सीमान्तकृत समुदायमाथि हुने हिंसा वा ज्यादतीका घटनालाई ढाकछोप गर्न नउभिने भन्दै पीडितलाई न्याय दिलाउन सधैँ अग्रपङ्क्तिमा रहने भनिएको छ ।
आफ्नो निर्वाचन क्षेत्र भीमफेदी पुगेर हस्ताक्षर गर्नुभएको उक्त १३ बुँदे आग्रहमा ठेक्कापट्टा, टेन्डर प्रक्रिया वा कुनै पनि व्यावसायिक सम्झौताहरू पारदर्शी र कानुनसम्मत हुनुपर्ने र अनुचित प्रभाव पार्न वा गैरकानुनी काम मिलाइदिन आफूलाई आग्रह नगरिन उहाँले भन्नुभएको छ ।

यस्तै विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान जस्ता प्राज्ञिक र स्वायत्त संस्थाहरू राजनीतिमुक्त हुनुपर्ने भन्दै उहाँले आफू, आफ्नो सचिवालय र परिवारलाई कुनै पनि प्रकारको प्रलोभनमा पारेर अनुचित काम गराउन सकिन्छ भन्ने नसोचिदिन र आफू सुशासनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उहाँले नागरिकता, लाइसेन्स, राहदानी वा अनुदान जस्ता सरकारी सेवाहरू छिटो गराउन ’सर्ट कट’ खोज्न वा दबाब दिन आग्रह गर्दै सरकारी सेवा प्रवाहलाई छिटो र छरितो बनाउन नीतिगत तहमा लड्ने उल्लेख गर्नुभएको छ ।
सार्वजनिक सम्पत्ति व्यक्तिगत वा निजी प्रयोजनका लागि उपलब्ध नगराइने भन्दै पहुँचको आधारमाभन्दा न्यायोचित विकासमा लाग्ने बताउनुभएको छ ।
यसैगरी उहाँले प्रतिशोधरहित राजनीति नगर्ने, राजनीति सेवाका लागि हो र सत्ताको दुरुपयोगमा नलाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सुखमा क्षमा, दुःखमा साथमा रहने भन्दै पदीय व्यस्तताका कारण विवाह, व्रतबन्ध वा भोजभतेर जस्ता व्यक्तिगत खुसीका क्षणहरूमा उपस्थित हुन नसक्दा क्षमा दिन र दुःख, विपद् र अप्ठ्यारोमा भने म नबोलाए पनि सकेसम्म आफैँ उपस्थित हुने बताउनुभएको छ ।




