हेटौँडा, चैत २ गते । बागमती प्रदेश सभा सदस्य भएर सङ्घीय सांसद बन्ने तयारी गरेका पूर्वप्रदेश सभा सदस्यहरूको यात्रा यो पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजयसँगै रोकिएको छ ।
बागमती प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सभा सदस्य मन्त्री र मुख्यमन्त्रीसम्म बनेकाको सङ्घीय संसदमा पुग्ने यात्रा रोकिएको हो । उनीहरू नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट उम्मेदवार बनेका थिए ।
बिसं २०७९ को निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र पूर्वप्रदेश सभा सदस्य लेखनाथ दाहालको सङ्घीय संसदको यात्रामा पूर्णबिराम लागेको छ । नेकपाबाट धादिङको क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नुभएको पाण्डे यस पटक तेस्रो स्थानमा र सिन्धुलीको क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका दाहाल निकटतम प्रतिस्पर्धी बन्नुभएको छ ।

एमालेबाट नुवाकोटको क्षेत्र नम्बर १ मा उम्मेदबार बन्नुभएका बद्री मैनाली, क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका केशबराज पाण्डे, ललितपुर क्षेत्र नम्बर १ मा उम्मेदबार बन्नुभएका चेतनाथ सञ्जेल र सिन्धुली क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएका प्रदीपकुमार कटुवाल क्षेत्री पराजित हुनुभएको छ । मैनाली, पाण्डे र कटुवाल प्रदेशका पूर्वमन्त्री हुनुहुन्छ ।
पूर्व प्रदेश सभा सदस्यहरु एमालेबाट प्रतिनिधि सभा सदस्यमा काठमाडौँ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका मणिराम फुयाल, क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएका रामेश्वर फुयाल, क्षेत्र नम्बर ९ बाट उम्मेदवार बन्नुभएका राजेश शाक्य र क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएका अजय क्रान्ति शाक्यको पराजयसँगै संसदीय यात्रा रोकिएको छ ।
रामेश्वर र अजय क्रान्ति प्रदेश सभाको पहिलो कार्यकालमा एमालेबाट प्रदेश सरकारको मन्त्री बन्नुभएको थियो । यस्तै नेकपाबाट ललितपुर ३ उम्मेदवार बन्नुभएका रामकाजी महर्जन र काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनुभएका बसुन्धरा हुमागाईंसमेत पराजित हुनुभएको छ । हुमागाईं प्रदेश सभाको पहिलो कार्यकालमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री हुनुभएको थियो ।

तत्कालीन विवेकशील साझा पार्टीबाट प्रदेश सभाको पहिलो कार्यकाल प्रदेश सभा सदस्य हुनुभएका विराजभक्त श्रेष्ठ काठमाडौँको क्षेत्र नम्बर ८ बाट पुनः निर्वाचत हुनुभएको छ । बागमती प्रदेश सभाको पहिलो कार्यकालमा नयाँ शक्तिबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका प्रेमबहादुर तामाङ यस पटक (एमाले) बाट रसुवामा उम्मेदबार बन्दै पराजित हुनुभयो ।
यसैगरी प्रदेश सभाको दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यका राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नुभएका पाँच जनामध्ये दुई जना मात्र निर्वाचित हुनुभएको छ । प्रदेश सभा सदस्य पटबाट कार्यकाल बाँकी हुँदै राजीनामा दिएर गत फागुन २१ गते सम्पन्न प्रतिस्पर्धा गर्नुभएका तीन जनाले पराजय भोग्नु परेको छ ।
प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएका युवराज दुलाल र सुनिल केसी एर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
दुलाल नेकपाको तर्फबाट सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्ब २ बाट र केसी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको केसी उक्त पार्टी छाडेर रास्वपाबाट उम्मेदवार बन्नुभएको थियो ।
एमालेबाट उम्मेदवार बन्नुभएका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वसन्तप्रसाद मानन्धर प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएको छ ।




