हेटौँडामा एमबिबिएस अध्यापन सुरु

लोकप्रिय

हेटौँडा, चैत ५ गते ।
हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस (चिकित्सा) अध्यापन सुरु भएको छ । चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति पाएसँगै बागमती प्रदेश सरकारमातहत रहेको प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि एमबिबिएस कार्यक्रम सञ्चालनमा ल्याएको हो । ७५ प्रतिशत सिटमा निःशुल्क र २५ प्रतिशत सिटमा सशुल्क अध्यापन गराउने गरी प्रतिष्ठानले आयोगबाट अनुमति पाएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईंले विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजनासँगै पाँचबर्से कोर्सको अध्यापन सुरु गरिएको जानकारी दिनुभयो ।

प्रतिष्ठानमा यसअघि बिएस्सी नर्सिङ, ब्याचलर अफ फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ विषयमा अध्ययन भइरहेको छ । साथै प्रतिष्ठानमार्फत एमडी/एमएस कार्यक्रम अन्र्तगत सात विषयमा आठ सिट निर्धारण गरी अध्यापन हुँदै आएको थियो । आयोगबाट यस वर्ष एमडी / एमएस का लागि मास्टर अफ फार्मेसीलगायतका
नौ वटा विषय थपसँगै सिट सङ्ख्या आठबाट बढाएर २७ पुरÞ्याइएको छ । प्रतिष्ठानका रजिस्ट्रार गुरागाईंले एमएससी नर्सिङ र मास्टर अफ पब्लिक हेल्थ विषय दुईबर्से र अन्य विषयको तीनबर्से कार्स हुने बताउनुभयो । पूर्वाधार अभावमा प्रतिष्ठानको अध्यापन हाल हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार रङ्गशाला परिसर हेटौँडा – ११ स्थित नलेज भिलेज, हेटौंडा – ४ को हुप्रचौर र हेटौँडा–८ को कमानेमा सञ्चालन हुँदै आएको छ ।

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका पालिकाका आधारभूत अस्पतालमा स्वास्थ्य जनशक्तिको अभाव रहेकोमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उत्पादन हुने स्वास्थ्यकर्मीबाट अभाव पूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानमा यसै वर्ष ब्याचलर अफ फार्मेसीमा २६ जना, जनस्वास्थ्यतर्फ १३ जना, ल्याब मेडिकलतर्फ १८ जना र बिएस्सी नर्सिङ विषयमा २६ जना विद्यार्थी भर्ना भएका छन् । २०७६ सालमा प्रतिष्ठानसम्बन्धी ऐन बनेसँगै प्रतिष्ठान स्थापना भई स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, अनुसन्धानलगायतका गतिविधि सञ्चालन हुँदै आएको छ।

 

ताजा समाचार

Related Articles