निर्वाचनले लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गरेको छ: प्रम कार्की

लोकप्रिय

काठमाडौँ, चैत ११ गते । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोग नेपालले आज बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्नु नपर्ने र शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा पनि यथावत् राख्नुपर्ने बताउनुभयो ।

“यसपटकको निर्वाचनले अन्तरराष्ट्रियस्तरमा नेपालको छवि राम्रो भएको छ, यसबाट नेपालप्रतिको सम्मान बढेको छ, यो निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गरेको छ, यसबाट लोकतन्त्रको संवद्र्धन पनि भएको छ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । गत भदौ अन्तिम साता आफू प्रधानमन्त्रीमा नियुक्त हुँदा कानुनी र राजनीतिक शून्यता, सुरक्षा संवेदशीलता भएको स्मरण गर्नुहुँदै उहाँले त्यो अवस्थाबाट निर्वाचन सम्पन्न गराई लोकतान्त्रिक मूल्य मान्यतालाई लिकमा अघि बढाइएको बताउनुभयो ।

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बेहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको बताउनुभयो । उहाँले निर्वाचनको मिति घोषणादेखि निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई पेस गर्दासम्मको करिब छ महिनाका अवधिमा आयोगले जटिलता र व्यवधान बेहोरेरै भए पनि निर्वाचन सम्पन्न गराएको छ भन्नुभयो । संविधान र कानुनले सुम्पिएको जिम्मेवारीअनुसार निर्वाचनमार्फत जनताको सार्वभौम अधिकारको अभ्यास सुनिश्चित गर्नु र लोकतन्त्रको थप सुदृढीकरणमा योगदान पु¥याउनु आयोगको प्रमुख दायित्वअनुसार गर्न सफल भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो ।

जलपान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले गत भदौ २३ र २४ गतेको नयाँ पुस्ताका युवाको आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभा निर्वाचनपछि नयाँ वातावरण बनेको बताउनुभयो ।

ताजा समाचार

Related Articles