हेटौँडा, चैत १२ गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा अवस्थित स्यार्सेकालिका मन्दिरमा विशेष क्षमा याचना पुजन कार्यक्रमका साथै शतचण्डी महायज्ञ हुने भएको छ । बिहीबार महायज्ञ परिसरमा पूर्वाङ्ग कार्य गरेसँगै शुक्रबार विशेष क्षमा याचना पुजन र शतचण्डी महायज्ञ हुनेभएको हो । स्यार्सेकालिका मन्दिर क्षेत्र विकास समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा महायज्ञ लगाउन लागिएको हो ।
आध्यात्मिक गुरु सविन शिवाकोटीले दुई दिन हुने कार्यमा गङ्गा पुजन, पाठ पारायण, शतचण्डी पाठपारायण, नवग्रह पुजन, लघुरुद्राभिषेक, श्री सुक्तपाठद्धारा हवन, वैदिक तान्त्रिक हवनलगायत अन्य पाठपारायण गरिने जानकारी दिनुभयो ।

स्यार्से कालिका मन्दिर व्यवस्थित गर्न स्थानीय सरकार र प्रदेश सरकारको लगानी रहेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो । २०५० सालको बाढीले क्षतविक्षत भएको यस शक्तिपीठलाई क्रमिक रुपमा विकास र व्यवस्थित गर्दै अहिलेको संरचना निर्माण भएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, स्थानीय सरकारले सबै धर्मलाई समानताको रुपमा लिएर आवश्यक समन्वय र सहकार्य गर्दछ ।
तीन खोलाको त्रिवेणीमा बसेको स्यार्से कालिका मन्दिरमा ठकुरीको वायु रहेकाले वर्षौदेखि हामीले नै पूजाआजा गर्दै आइरहेको मन्दिरका पुजारी दानबहादुर ठकुरीले बताउनुभयो । कालिका भगवतीका सात दिदीबहिनीमध्ये यहीँ वरिपरी चार दिदीबहिनी रहेको भन्दै उहाँले यी स्यार्से जेठी भइन् भने सरिखेतको कान्छी हुन् । नामटार ९ घैराङ र कैलाश ३ कालिकाटारमा दुई दिदीबहिनीको कालिका मन्दिर रहेको बताउनुभयो ।

श्रीराम नवमीको अवसरमा वास्तु पुजा, नवग्रह पुजा, नाग पूजा, क्षेत्रपाल, लक्ष्मीनारायण, योगिनी, नारायणबली पुजा लगायत हुने मन्दिर समितिका सचिव मनोज बर्तौलाले बताउनुभयो । चार सय वर्ष पुरानो शक्तिपीठको रुपमा स्यार्से कालिका मन्दिरमा पूजा आराधाना गरिदैँ आएको छ ।




