काठमाडौँ, चैत १७ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार स्ट्राइकर अन्जन विष्टले जुनियर तथा युवाको फुटबल प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले फुटबल ट्रेनिङ सेन्टर सञ्चालन गर्नुहुने भएको छ ।

‘नेक्स्ट जेन बुट क्याम्प’ नाम दिइएको उक्त ट्रेनिङ सेन्टरमा १० दिनको विशेष फुटबल प्रशिक्षण कार्यक्रम गरिने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रशिक्षण क्याम्पमा ८ देखि १६ वर्ष उमेर समुहका खेलाडी रहने छन् ।

क्याम्प यही चैत २१ गतेदेखि ३० गतेसम्म ललितपुरस्थित बुद्धिविकास फुटबल मैदानमा हरेक दिन बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुने छ । क्याम्पमा एएफसीबाट लाइसेन्स प्राप्त प्रशिक्षकले प्रशिक्षण दिने छन् । सहभागी खेलाडीका लागि आठ हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ ।




