मकवानपुर, चैत १७ गते । मकवानपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते भएका छन् । कान्ति लोकपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ र ५ को सिमाना सानोपोखरा चोक सडक खण्डमा गएराति स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

बुद्व चोकबाट पिप्लेतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च. ३६६९ नं.को स्कारपियो गाडीले भित्रीबाटो मनकामना चोकबाट सानोपोखरा चोक हुँदै बाटो क्रस गर्दै गरेको अवस्थामा म.प्र.०३–०२७ प. ४२९८ नं.को मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक हेटौँडा-८, कमाने मनकामना टोलका २६ वर्षीय गणेश राना मगर र मोटरसाइकल पछाडि सवार हेटौँडा ४ का २२ वर्षीय विशाल विश्वकर्मा घाइते हुनुभएको हो । दुवै जना घाइतेको हेटौँडा अस्पताल उपचारभएको र स्कारपियो चालक हेटौँडा-१७, चुच्चे खोलाका ३९ वर्षीय दिनेश राईलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५, रातोमाटेस्थित रिद्धीसिद्धी सिमेन्ट उद्योग जाने बाटो नजिकै सोमबारनै म्याजिक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना. १ ज. ८५३५ नं. को म्याजिकको अगाडिको दाहिनेतर्फको टायर पड्की अनियन्त्रित भई सडक छेउको नालीमा कोल्टे परी दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरूमा हेटौँडा-१५, रातोमाटे भोर्लेकी १८ वर्षीया सुस्मिता थिङ, १७ वर्षीय रूपराज मोक्तान, २० वर्षीय राहुल दोङ, १५ वर्षीय रिजन रुम्बा, १९ वर्षीय विकास लामा, १७ वर्षीया करुना वाइवा, १८ वर्षीया रक्षा लामा, १९ वर्षीया उर्मिला घिमिरे, १९ वर्षीय समिक पाख्रिन, १८ वर्षीय सीता भोम्जन, र हेटौँडा-८, कमानेकी १९ वर्षीया हिउनिसा थोक्कर रहेका छन् ।

घाइतेको हेटौँडा अस्पतालमा उपचार भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । म्याजिक चालक हेटौँडा-१५, भोर्लेका ३४ वर्षीय नवराज स्याङ्तानलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको छ ।




