खासकुरा संवाददाता
हेटौँडा, चैत १७ गते । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बागमती प्रदेशमा मन्त्रालय संख्या घटाउन छलफल अगाडि बढाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १४ वटा मन्त्रालय रहेको यस प्रदेशमा उक्त सङ्ख्या घटाएर सात वटा मन्त्रालय राख्ने गरी बैठकले निर्णय गरेको हो ।
प्रदेश सरकारमा प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सरकारले गठन गरेको प्रदेश उच्चस्तरीइ प्रशासनिक पुनःसंरचना समितिले बुझाएको प्रतिवेदनमा हाल रहेको मन्त्रालयलाई सात मन्त्रालयमा सीमित राख्न सिफारिश अनुसार सरकारमा सहभागी दुई दलबिच आपसी छलफल गरी अघि बढ्न सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै सात वटा निर्देशनालयलाई दुई वटामा सीमित राखी पाँचवटा खारेज गर्ने र हाल कायम रहेका कर्मचारी दरबन्दीमध्ये ७०१ जना कर्मचारी कटौती गर्न कांग्रेस र नेकपा एमालेबिच आपसी छलफल गरी पारित गर्नतर्फ अघि बढ्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै बागमती प्रदेश संसदीय दलका नेता तथा माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा काठमाडौँमा मङ्गलबार बसेको संसदीय दलको बैठकले बागमती प्रदेश सभाको बैठक एक हप्ताभित्र प्रदेशसभा आव्हान गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय बैठकबाट गरिएको छ ।
बैठकले बागमती प्रदेश सभा सभामुख पदमा कांग्रेसले दाबी गर्ने भएको छ ।
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका सह–महामन्त्री बहादुरसिंह लामालाई बधाई तथा शुभकामना व्यक्त गर्ने निर्णय बैठकले गरेको छ ।

काँग्रेसभित्रको आन्तरिक समस्यालाई आपसी सहमति र संवादमार्फत छिट्टै समाधानतर्फ अगाडि बढी पार्टीलाई १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशनको सन्देश दिनलाई दुवै पक्षलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।
साथै बागमती प्रदेशका खानेपानी उर्जा तथा सिँचाई मन्त्री कृष्णकुमार तामाङका पिता श्रीमान तामाङ, पूर्वमन्त्री तीर्थ लामाका पिता केशरबहादुर तामाङ र प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठकी पति रामेश्वर श्रेष्ठको निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली साथै परिवारजनमा समवेदना प्रकट गर्ने बैठकले निर्णय गरेको छ ।।




