खासकुरा संवाददाता
हेटौँडा, चैत १७ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ९ स्थित गुम्बाचोकमा दुई वटा मोटरसाइकल बुधबार बिहान एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकलको पछाडि सवार हेटौँडा–९ की १८ वर्षीया एकता वैद्य नवलपरासीबाट सिमेन्ट लोड गरी वीरगंजतर्फ जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकमा ठोक्किँदा गम्भीर घाइते हुनुभएको थियो । घाइते वैद्यलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा दिउँसो १२ बजेर २० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

दुर्घटनामा प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल चालक हेटौँडा–४, कर्राका १९ वर्षीय रोनिक कार्की र ना ४४ प ९३५४ नम्बरको मोटरसाइकलका चालक चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित बदेलटारका २१ वर्षीय पुष्पलाल गुरुङ घाइते हुनुभएको छ । घाइते दुवैको हेटौँडा अस्पतालमा उपचार भईरहेको छ । ट्रक चालक बाँके जिल्लाको कोहलपुर नगरपालिका–१४ का ३३ वर्षीय बद्री गडरियालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ ।




