हेटौँडा, चैत २७ गते । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले आधुनिक राष्ट्रिय माध्यामिक विद्यालय, हेटौँडा–४ को शैक्षिक सभाहललाई कुर्सी सहयोग गरेको छ ।
वडा कार्यालयले शुक्रबार एक कार्यक्रमका बिच विद्यालयलाई २७० वटा कुर्सी हस्तान्तरण गरेको हो ।
वडाध्यक्ष नवीन सिग्देलको विशेष उपस्थितिमा विद्यालयमा आयोजित कार्यक्रममा कुर्सी हस्तान्तरण गरिएको थियो ।
वडाध्यक्ष सिग्देलले वडा कार्यालयको शैक्षिक सहयोग अभियान अन्तर्गत विद्यालयलाई पाँच लाख रुपियाँ बराबरको कुर्सी सहयोग प्रदान गरिएको बताउनुभयो ।
विडाध्यक्ष सिग्देलले शैक्षिक विकासमा प्राथमिकता दिँदै वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

विद्यालयको भौतिक सुधार, विज्ञान प्रयोगशाला र विभिन्न शैक्षिक क्रियाकलापमा वडा कार्यालयबाट सहयोग उपलब्ध गराउँदै आएको छ ।
विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईँल पाँच लाख रुपियाँ बराबरको कुर्सी शैक्षिक सभाहललाई प्राप्त भएको अब सभाहल सुचारूको लागि सहज हुने बताउनुभयो ।
यसअघि पनि वडा नं. ४ बाट विज्ञान प्रयोगशाला निर्माण, तारबार, डेस्क–बेन्च व्यवस्थापन, क्यान्टिन निर्माणलगायतका सहयोगहरू गर्दै आएको विद्यालयले जनाएको छ ।

सो कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, विद्यालयका प्रअ रामसागर गुरागाईँ, समाजसेवी भवानी शर्मा, टोल विकास नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, विद्यालय व्यवस्थापन समितिकी सदस्य रेणुका फुयाल र पिटिए अध्यक्ष केदार ढोडरीलगायतको उपस्थिति रहेको थियो ।




