हेटौँडा, चैत २८ गते । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति, प्रदेश समितिले श्रमजीवी पत्रकारहरूले सञ्चालन गरेका साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमहरूको हित र प्रवर्द्धनका लागि पूर्ण समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न माग गरेको छ ।
प्रदेश अन्तर्गतका महासंघका जिल्ला अध्यक्षहरू तथा प्रदेशस्तरीय पत्रकार सङ्गठनका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थितिमा दोलखाको पर्यटकीय नगरी जिरीमा चैत चैत्र २७–२८ मा सम्पन्न बैठकपछि जारी गरेको जिरी घोषणा पत्रमार्फत यस्तो माग गरिएको हो ।

सरकारी विज्ञापन प्रकाशन–प्रसारणमा देखिएको अनियमितता तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले चालेका प्रयासहरूको स्वागत गर्दै यसभित्रका विकृतिहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै स्थानीय स्तरमा प्रवाह गरिने सूचना तथा जनचेतनामूलक सन्देशहरू स्थानीय सञ्चारमाध्यममार्फत नै प्रकाशन–प्रसारण हुने व्यवस्था मिलाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको छ ।
संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने कुनै पनि क्रियाकलाप नगर्न सरकारसँग आग्रह गर्दै महासंघले प्रदेश सरकारका निकायमा दर्ता भएका सञ्चारमाध्यम सम्बन्धी विद्यमान अन्योलता अन्त्य गर्न प्रदेश र संघीय सरकारबीच समन्वय गरी तत्काल समस्या समाधान गर्न भनेको छ ।
यस्तै, बागमती प्रदेश सरकारलाई सञ्चार रजिस्ट्रार कार्यालय कायम राख्न र जोखिमपूर्ण रिपोर्टिङका क्रममा व्यक्तिगत सुरक्षामा ध्यान दिँदै बदलिँदो समय र जनअपेक्षाअनुसार व्यवसायिक, जिम्मेवार र स्वतन्त्र पत्रकारिताको उच्चतम अभ्यास गर्न घोषणापत्रमार्फत आग्रह गरिएको छ ।

नेपाल पत्रकार महासंघ आम श्रमजीवी पत्रकारहरूको अभिभावक तथा संरक्षक बन्नुपर्नेमा पछिल्ला घटनाक्रमले यसलाई पुष्टि गर्न नसकेको भन्दै घोषणापत्रमा भनिएको छ,महासंघको गरिमा उकास्नुपर्ने विषयहरूमा देखिएको अन्योलताले प्रदेश, जिल्ला तथा आम श्रमजीवी पत्रकारमा नकारात्मक असर परिरहेको हुँदा यसतर्फ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण गराउँछौं।
महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुले प्रकृति तथा वातावरणीय सन्तुलन कायम राख्न आदिवासी जनजाति र स्थानीय समुदायले पुस्तौँदेखि प्रयोग गर्दै आएको ‘रैथाने ज्ञान’ लाई विज्ञानसम्मत ढङ्गले अभिलेखीकरण गरी नीति–निर्माण तहसम्म पुर्याउन प्रतिबद्धता बैठकले गरेको बताउनुभयो ।
जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित महिला, दलित, गरिब तथा सीमान्तकृत समुदायको आवाजलाई समाचारको केन्द्रमा राख्नेछौं। साथै, प्रभावित समुदायको न्यायका पक्षमा काम गर्न सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदै पर्यटकीय नगरी जिरी तथा यस क्षेत्रका महत्वपूर्ण प्राकृतिक सम्पदामा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणका लागि तीनै तहका सरकारसमक्ष आग्रह गरिएको घोषणापत्रमा उल्लेख छ ।

साथै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको बैठक तथा दोलखाको पर्यटकीय नगरी जिरीमा जलवायु परिवर्तनसम्बन्धी सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेश सरकार र नेपाल पत्रकार महासंघ दोलखा शाखा तथा स्थानीय पर्यटन व्यवसायीहरूलाई हार्दिक आभार व्यक्त गरिएको छ ।




