हेटौँडा, चैत ३० गते । हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको ५०औँ वार्षिक अभिभावक भेला आइतबार सम्पन्न भएको छ ।
भेलामा विद्यालयको शैक्षिक नीति तथा कार्यक्रम सँगै आय–व्यय सार्वजनिक गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष नरनाथ सुवेदी प्रमुख आतिथ्यतामा भएको भेलामा प्रधानाध्यापक प्रबोध बिडारीले चालु शैक्षिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र आय–व्यय विवरण प्रस्तुत गर्दै सुशासन र पारदर्शितालाई जोड दिएर काम गर्दै आएको बताउनुभयो । साथै आगामी शैक्षिक शत्रको योजनाहरू प्रस्तुत गर्दै उहाँले विद्यालयको गुणस्तर अभिवृद्धिमा अभिभावकको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीले स्वर्ण महोत्सवको आय–व्यय प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।
सो अवसरमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै अन्जना बस्नेतको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक संघ गठन गरिएको छ।
कार्यक्रममा सहायक प्रधानाध्यापक सुनिल लामा र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष इन्द्रिया लामाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।




