खासकुरा संवाददाता
हेटौँडा, वैशाख १ गते । जिल्ला प्रहरी कार्यालय, कास्कीले ’स्वीप अप्रेसन’ सञ्चालन गरी १८ लाई पक्राउ र ४१ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । कास्की प्रहरी कार्यालयले जिल्लाको विभिन्न स्थानहरुमा मादक पदार्थ, लागू पदार्थहरु सेवन गरी हो–हल्ला गर्ने, सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने तथा शान्ति सुरक्षामा खलल पु¥याउनेहरुलाई पक्राउ गरेको हो ।

नयाँ वर्षको दिन मङ्गलबार दिउँसो अं. १५ः०० बजेदेखि तीन घण्टाको अवधिमा पोखराका विभिन्न स्थानहरुमा ’स्वीप अप्रेसन’ को क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी चलाउने तथा सवारी साधनको स्वरुप परिवर्तन गरी चलाउने तथा शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधिमा संलग्न १८ जना र ४१ वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाईएको उहाँले बताउनुभयो ।

प्रहरीले पोखरा महानगरपालिका वडा नं. ११ काहुडाँडाबाट १० वटा सवारी साधन र आठ जनालाई पक्राउ गरी कारबाही, पोखरा महानगरपालिका वडा नं. १४ चाउथेबाट नौ वटा सवारी साधन कारबाही तथा पोखरा वडा नं. १८ मेथलाङबाट छ वटा सवारी साधन कारवाही गरी छाडिएको, सात वटा सवारी साधन र पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
यस्तै पोखरा वडा नं. ३० बेगनासबाट आठ वटा सवारी साधनलाई कारवाही गरी छाडिएको र एउटा वटा सवारी साधन चालकले लागू औषध सेवन गरेको पाइएकोले नियन्त्रणमा लिएको र चार जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।




