घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु

लोकप्रिय

काठमाडौँ, वैशाख ७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा सोमवारबाट ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला २०८३’ सुरु भएको छ । कार्यशालाको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले घरपझोङको समृद्धिमा कृषि र पर्यटनसँगै ललितकला पनि जोडिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तपाईँहरूले यहाँको ऐतिहासिक विषयवस्तुमा आधारित रहेर कला गर्नुहुने छ । यो ठाउँ हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको सङ्गमस्थल भएकाले यहाँ रहेका पवित्रस्थानसम्बद्ध विषयमा कला सिर्जना गर्दै इतिहास रच्ने मौका पाउनुभएको छ । तपाईँहरूको कला यस ठाउँमा आउने प्रत्येक मानिसहरूले हेरेका हुन्छन् । तसर्थ यस कामलाई सफल बनाउनका लागि शुभकामना दिन चाहन्छु ।’
प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कार्यशालाबाट सिर्जना हुने मूर्तिकलामा घरपझोङको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिकलगायतका विविध विषय समेटिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले घरपझोङमा विभिन्न आकारमा रहेका ढुङ्गाहरूलाई मूर्तिको रूप दिने छौँ । मुस्ताङको सांस्कृतिक पर्यटन प्रवर्धनमा यस कार्यशालाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’
घरपझोङका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद बस्नेतले प्रतिष्ठानसँगको सहकार्यले पालिकालाई उत्साहित बनाएको बताउँदै ललितकला पर्यटनको प्रवर्धनका लागि गाउँपालिकाले कार्यशालाको आयोजना गरेको धारणा राख्नुभयो । कार्यक्रममा गाउँपालिका, प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, वडाका प्रतिनिधि, समाजसेवी, स्थानीय, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । १५ दिनसम्म चल्ने कार्यशालामा ३० जना कलाकारहरूले सहभागिता जनाउनुभएको छ ।

ताजा समाचार

Related Articles