सुरक्षित स्थानान्तरण गछौँ: प्रधानमन्त्री

लोकप्रिय

काठमाडौँ, वैशाख ११ गते । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ खोला किनारका बस्तीहरुलाई सुरक्षित स्थानान्तरण गर्ने तयारी सरकारले गरेको जानकारी गराउनुभएको छ । सामाजिक संजाल फेसबुकमा विगतको बाढीका कारण नागरिकलाई परेको सास्तीको फोटो राख्दै  प्रधानमन्त्री शाहले  हरेक वर्ष बाढीका कारण काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका बस्तीहरू डुबानमा परेर हजारौँ नागरिकले घरबार छोड्नुपर्ने अवस्था दोहोरिँदै आएको भन्दै अब यसको दीर्घकालीन समाधानमा लागिएको बताउनु भएको हो ।

खोला किनारका बस्तीहरूमा बसोबास गर्ने नागरिकहरू प्रत्येक वर्ष बाढीको जोखिममा परेर उद्धार गर्नुपर्ने अवस्था आउनु गम्भीर समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले  यसलाई अब वर्षैपिच्छे दोहोरिन नदिई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले त्यसैगरी, खोला किनारका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणाली निर्माणमा समस्या उत्पन्न भई उपत्यकाको सरसफाइ तथा वातावरणीय अवस्था प्रभावित भएको पनि उल्लेख गर्दै त्यस्ता बस्तीहरूको स्थानान्तरणले ढल निकास व्यवस्थापन सहज हुने बताउनु भएको छ ।

थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमयुक्त बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय दृष्टिकोण अपनाउँदै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी गराउनु भएको छ ।

साथै, सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणसम्बन्धी प्रतिबद्धता स्मरण गराउँदै उहाँले वास्तविक सुकुम्बासी र अतिक्रमणकारीलाई छुट्याएर देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने योजना रहेको र सरकारले वर्षौँदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या र खोला किनार बस्ती व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने तयारी गरिरहेको पनि उल्लेख गर्नु भएको छ ।

ताजा समाचार

Related Articles