दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

लोकप्रिय

भद्रपुर (झापा), वैशाख १८ गते । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ ।  कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु १० अर्ब ७० करोड सात लाख १८ हजार बराबरको अलैँची निर्यात भएको हो ।

चालु आवको नौ महिनामा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । अघिल्लो आव २०८१/८२ को सोही  अवधिमा रु छ अर्ब २५ करोड १२ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको नौ महिनामा चियाको निर्यात २६÷७३ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु दुई अर्ब ५८ करोड १९ लाख ८५ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१÷८२ को सोही अवधिमा रु तीन अर्ब २७ करोड २० लाख ७२ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो । कार्यालयका अनुसार निर्यात हुने मुख्य वस्तुमध्ये भेनियर सिट ३०.८८ प्रतिशत, छुर्पी ३०.३५ प्रतिशत वृद्धि भएको छ भने प्लाइउड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशत, फलामे पाता एक हजार ७४७.८१ प्रतिशत र मोलासिस ३६१.३५ प्रतिशत र सिमेन्ट क्लिङ्करको निर्यात शतप्रतिशतले घटेको छ । मेची भन्सारबाट चालु आव २०८२/८३ को चैत मसान्तसम्ममा रु १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजार बराबरको माल वस्तु निर्यात भएको छ ।

ताजा समाचार

Related Articles