हेटौँडा, वैशाख १९ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिका ६ स्थित वज्रवाराहीमा वज्रवाराही (अजिमा) जात्रा सुरु भएको छ ।
प्रत्येक तीन वर्षमा हुने जात्रा शनिबारबाट सुरु भएको हो ।
चण्डीपुर्णिमा अर्थात् वैशाख पुर्णिमापछि लाग्ने जात्रा तीन दिनसम्म मनाइन्छ ।
जात्राको पहिलो दिन गाउँबाट देवताहरु ल्याएर वज्रबाराही अवस्थित पिठमा राख्ने परम्परा रहेको स्थानीय प्रमोद जोशीले जानकारी दिनुभयो ।
जात्राको दोस्रो दिन अर्थात जात्राको मुख्य दिन प्रत्येक गाउँका घरघरबाट बलीसहित पूजा सामाग्री ल्याएर दिनभर पूजा गर्ने गरिन्छ र गाउँबाट ल्याइएका देवताहरु तेस्रो दिन र्फकाइने प्रचलन रहेको छ । तान्त्रिक विधि अनुसार पुजा आजा गर्नुका साथै टिस्टुङ क्षेत्रको इस्ट देवता नै बज्रबाराही भएकाले बज्रवाराहीलाई खुसी पार्दा, आराधाना गर्दा मात्र मानव कल्याण हुन्छ भन्ने जनविश्वास छ ।
काठमाडौँ उपत्यकालाई रक्षा गर्ने चार बाराहीमध्ये एक ललितपुरस्थित वज्रबाराही भएको र मकवानपुरको थनहा नगरस्थित वज्रबाराहीलाई ललितपुरको बज्रबाराहीको आमाको रुपमा लिने गरिन्छ ।
यो जात्रा वैशाख पूर्णिमापछिको शनिबार पारेर सुरु गर्ने गरिन्छ ।
जात्राको व्यवस्थापन थाहा नगरपालिका ६ नं वडा कार्यालय र स्थानीय गुठी व्यवस्थापन समितिले गरिरहेको छ ।
जात्रा भर्न थाहा नगरका आसपासका पालिकासँगै काठमाडौँ उपत्यकाबाटसमेत आउने गर्छन ।
गुठीको नाममा रहेको २०४ रोपनी जग्गाको आयस्रोतले जात्रा र गुठी सञ्चालन हुँदै आएको छ ।
जात्रामा आफ्नो भेषभुषा, संस्कृति र बाजागाजाका साथ रमाईलो गरी सहभागिता जनाउने गरिन्छ ।
जात्रा शुरु हुनुपूर्व पुजारीहरुले एक साता अघिदेखिको आइतबारदेखि बिहीबारसम्म मध्यरात मन्दिरमा (पिठ)मा गई पूजा गर्नुपर्ने हुन्छ ।




