खासकुरा संवाददाता
हेटौँडा, वैशाख २२ गते । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि लगाइएको आरोपको निष्पक्ष रुपमा छानविन गर्न आग्रह गरेको छ ।
काठमाडौंमा बसेको संसदीय दलको बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट सुरु गरिएको छानबिनप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाअनुसार अनुसन्धान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको हो ।

विभागले सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी निवास र विगतमा उहाँ आवद्ध कार्यालयमा गरिएको छापामार शैलीको अनुसन्धान कार्यप्रति आपत्ति जनाउँदै काग्रेस संसदीय दलले दलका नेतामाथि लगाईएको आरोपको संवैधानिक र कानूनी दायरामा रहेर निष्पक्ष, न्यायोचितरुपमा छानविन गर्न भनेको छ ।
बैठकले कुनै पनि व्यक्तिमाथि लागेका आरोपहरू विधिसम्मत दायराभित्र राखी न्यायोचित र निष्पक्ष ढंगले गर्नुपर्ने माग गरेको छ ।
साथै, संविधान र कानुनअनुसार हुने अनुसन्धानमा पार्टीको पूर्ण सहयोग रहने कांग्रेस संसदीय दलको भनाई छ ।
बैठकले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरुको माग र भौगोलिक अवस्थालाई आधार बनाएर छनोट गर्न समेत सुझाएको छ ।




