पाटन (ललितपुर) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विधि र कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज उहाँले सामाजिक प्रतिष्ठालाई सफलताको मानक बनाउनेभन्दा कानुन बनाउने जिम्मेवारी लाग्न निर्देशनसमेत दिनुभयो ।

सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने प्रष्ट पार्नुभयो । “सरकारले सोचेर कदम चालिरहेको छ, आजसम्म सरकारले गरेका निर्णयबाट दुःख मनाउन गर्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो,“कतिपय कानुन निर्माणलाई ‘फास्ट ट्र्याक’मा लिएर जान अध्यादेश ल्याइएको हो । नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय गरेका छैनौँ । हामी जनताको माया र देशको भविष्यप्रति चिन्तित छौँ ।”

सभापति लामिछानेले नेपाली जनताले परिवर्तनका लागि रास्वपालाई जनमत दिएको भन्दै चुनाव जित्दैमा सर्वगुण सम्पन्न छौँ भनेर नसोच्न सांसदहरूलाई आग्रह गर्नुभयो । उहाँले विगतमा अन्य राजनीतिक दलले अनवरत सङ्घर्ष गरेर परिवर्तन ल्याएको उल्लेख गर्दै अब जनताको अवस्था बदल्ने जिम्मेवारी आफूहरूको काँधमा आएकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । सभापति लामिछानेले संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको बताउनुभयो । उहाँले सरकार बजेट बनाउन व्यस्त रहेको र त्यसलाई उत्कृष्ट बनाउने गरी अर्थमन्त्रीसँग छलफल भएको जानकारी दिनुभयो । उहाँले सिङ्गै देश हाम्रो निर्वाचन क्षेत्र हो भन्ने ठानेर राज्यको सामर्थ्य बढाउने गरी काम गरिने धारणा राख्नुभयो । सभापति लामिछानेले सरकारले आमजनमानसमा सकारात्मक सन्देश दिने गरी काम गरिरहेको र सरकारको भूमिकालाई थप प्रभावकारी बनाउने गरी खबरदारी सधैँ अपेक्षित रहेको बताउनुभयो ।




