हेटौँडामा स्रष्टाहरु सम्मानित

लोकप्रिय

हेटौँडा, वैशाख २७ गते । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधामा सात जना स्रष्टा सम्मान गरेको छ।
प्रतिष्ठानको २१ वार्षिक साधारणसभा एवम् आठौँ अधिवेशनको अवसरमा शनिबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो । प्रतिष्ठानले लोक गायक राजु परियारलाई २० हजार रुपियाँ राशीको ‘रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार’ बाट सम्मान गरेको छ ।
१० हजार रुपियाँ राशीको ‘भीम–मथुरा बाल प्रतिभा पुरस्कार’ सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीमा अध्ययनरत उदीयमान गायिका अक्सा खातुनलाई, १५ हजार रुपियाँ राशीको ‘शिला नारी पुरस्कार’ मकवानपुरकी संगीता थापा मगर, १० हजार रुपियाँ राशीको ‘अजित सेन गुप्ता भित्र क्षमता पुरस्कार’ थाहा नगरपालिकाका चित्रकार अमिर भोम्जनलाई र १० हजार रुपियाँ राशीको ‘इन्द्रकुमार कोजू स्मृति पुरस्कार’ ज्ञानोदय बालवाटिका आवासीय माविमा अध्ययनरत् अप्सना उप्रेती प्रदान गरिएको छ ।

यस्तै १५ हजार रुपियाँ राशीको ‘शिला नारी पुरस्कार’ बाट मकवानपुरकी संगीता थापा मगर, १५ हजार रुपियाँ राशीको ‘चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार’ बाट साहित्य संगम मकवानपुर, १० हजार रुपियाँ राशीको ‘मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार’ बाट स्वास्थ्यकर्मी राजु गुरुङ र १५ हजार रुपियाँ राशीको ‘तुलसीमाया–शिवकुमारी सृजनशील नारी पुरस्कार’ बाट मकवानपुरकी हस्तकला प्रशिक्षक रविना श्रेष्ठ सम्मानित हुनुभएको छ ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले स्रष्टा र संस्थालाई सम्मान गर्नुभएको थियो । वरिष्ठ कला साधक भीम विरागको सम्मानमा २०५९ सालमा स्थापना गरिएको प्रतिष्ठानले स्रष्टा तथा सर्जकलाई सम्मान गर्दै आएको छ ।

यसैबिच प्रतिष्ठानको अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि पुनः केशवलाल श्रेष्ठको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा श्यामकुमार बानियाँ, महासचिवमा माधवबहादुर पोखरेल, कोषाध्यक्षमा दिनेश सुवेदी र सचिवमा आशा ढकाल तथा सदस्यहरुमा गहन खतिवडा, बालकृष्ण चौलागाईं, पदमलाल श्रेष्ठ, शर्मिला श्रेष्ठ, अन्जन दाहाल, प्रह्लाद मिश्र र गोपिनी गौतम चयन हुनुभएको छ ।

 

ताजा समाचार

Related Articles