हेटौँडा, वैशाख २७ गते । हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजनामा र शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ को व्यवस्थापनमा भएको तेस्रो वडा खेलकुद महोत्सव र वडामा कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई पुरस्कृत र सम्मान गरिएको छ ।
बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले विद्यार्थी र शिक्षकलाई एक कार्यक्रमका बिच पुरस्कृत गर्दै शिक्षाको गुणस्तर सुधार आजको आवश्यकता भएकोले यस्ता शैक्षिक क्रियाकलापले शिक्षा क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा सृजना गर्ने, विद्यार्थीको प्रतिभालाई प्रस्फुटित गर्ने र समग्र शैक्षिक विकासमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा तेस्रो खेलकुद महोत्सवमा नगरस्तरीलय फुटलबल प्रतियोगितामा विजयी हुने प्रगति मावि र उपविजेता रक्सल एकेडेमी, क्रिकेटतर्फ विजेता भुटनदेवी मावि, उपविजेता श्रमिक मावि, भलिवलतर्फ विजेता कृष्ण आदर्श मावि, उपविजेता ज्योति मावि तथा बास्केटबलतर्फ विजेता नवोदय शिशु सदन र उपवपजेता कमाने एकेडेमीलाई शिल्ड र मेडलसहित पुरस्कृत गरिएको थियो । त्यस्तै वडास्तरमा एथ्लेटिकका विभिन्न विधाहरू र टग अफ वारका विजेता भुटनदेवी मावि, उपविजेता आधुनिक माविलाई पुरस्कृत गरिएको थियो । खेल महोत्सवमा वडा प्रथम हुने भुटनदेवी माविलाई पुरस्कृत गरिएको शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले जानकारी दिनुभयो । कार्यक्रममा वडास्तरीय वादविवाद, कविता, हाजिरी जवाफ, निबन्ध, नेपाली हिज्जे र बक्तृत्वकला प्रतियोगितामा विजेता र उपविजेतालाई पुरस्कृत गरिएको थियो । सबै प्रतियोगितामा करिव १२ सय विद्यार्थीले प्रतियोगितामा भाग लिएको र विजेता र उपविजेता पुरस्कृत करिव ३ सय विध्यार्थी रहेको खेलकुद कार्यक्रम संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो । वडास्तरमा कक्षा ८ को परीक्षामा चार जिपिए ल्याउने भुटनदेवी मावि चार जना, बम्हदीक एकेडेमी चार जना र नवोदय माविका तीन जना विद्यार्थीलाई जनही पाँच हजार र विषयगत सात जना शिक्षकलाई १० हजार रुपियाँ नगर पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँले जानकारी दिनु भयो ।

कार्यक्रममा ४ नंं वडाध्यक्ष नवीन सिग्देलले विगत वर्षदेखि नै वडा कार्यालयले विद्यार्थी र शिक्षक केन्द्रीत शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आईरहेको बताउनु भयो । उहाँले शिक्षामा प्रतिफल प्राप्त गर्न शिक्षामा लगानी अभिवृद्वि गर्नुपर्ने र सामुदायिक र संस्थागत विद्यालयबीचमा सहकार्यले स्वस्थ प्रतिस्पर्धीसँगै शिक्षामा सुधार गर्न सकिने बताउनु भयो । कार्यक्रममा १० नं. वडाध्यक्ष फूर्वादोर्जे लामा, ११ नं. वडाध्यक्ष जुना दाहाल, राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्रि पाठक, वडा सदस्य गीता त्रिपाठी, मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख संगम चौलागाई, श्रमिक माविका व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमिरे, आधुुनिक राष्ट्रिय माविका शिक्षक कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।




