विपद् व्यवस्थापनमा समन्वय आवश्यकः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

हेटौँडा, वैशाख ३१ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर देशका सबैपक्षको समन्वय र सहकार्यमा विपद्बाट हुने क्षति र जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बिहीबार भएको बागमती प्रदेशमा हुनसक्ने विपद्जन्य घट्ना र त्यसको रोकथाम तथा ब्यवस्थापनको पूर्वतयारी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गरेर जानुपर्ने चुनौती रहेकोले सबै पक्षबिच समन्वय आवश्यक भएको बताउनुभयो ।
उहाँले विपद् पूर्वतयारीका कार्य, विपद् व्यवस्थापनसँगै राहत र उद्धारका लागि प्रदेश सरकारले बजेटको अभाव हुन नदिने भन्दै मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापनका लागि संयन्त्र रहेको र जिल्ला र पालिकामा रहेका संयन्त्रहरु मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
विपद्को समयमा स्थानीय प्रशासन र प्रहरी कार्यालयलाई स्थानीय तह र प्रदेशका जनप्रतिनिधिसँगै राजनीतिक दलहरुसँग समन्वय गरेर विपद् व्यवस्थापन गर्न निर्देशन दिँदै उहाँले परिस्थितिलाई सामान्यीकरण गर्दै उद्धार राहत र पुनर्स्थापना जुट्नु पर्ने बताउनुभयो ।

प्रदेश सरकार मातहत प्रहरी नआइसकेपनि प्रहरीको भौतिक संरचना निर्माण सहयोग गर्दै भन्दै उहाँले भन्नुभयो, प्राकृतिक प्रकोपको समयसँगै गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायको भवन, सवारी साधनमा भएको क्षतिपछि प्रदेश सरकारले सहयोग गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शिवराज अधिकारीले विपद्को समयमा हुने क्षति कम गर्न सबै पक्ष लाग्नुपर्ने भन्दै विपद् पूर्वतयारीको प्रदेशको संयन्त्रले समन्वय गर्ने बताउनुभयो ।
बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु र विभिन्न सुरक्षा निकायका प्रमुखहरुले आआफ्नो जिल्लाहरुमा रहेका विपद्का सामाग्री, हालको अवस्था, पूर्व तयारी र भावी रणनीतिको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश सुरक्षा समितिका पदाधिकारीहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुका विभिन्न सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles