‘एसईई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

लोकप्रिय

नवलपुर (नवलपरासी), जेठ २ गते । माध्यमिक शिक्षा परीक्षामा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित गैँडाकोट इङ्गलिस स्कुलले नगदसहित सम्मान गरेको छ । विद्यालयबाट चार जिपिए ल्याई उत्तीर्ण हुने विद्यार्थी तेजस्वी पन्तलाई गैँडाकोट नगरपालिका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला तथा विद्यालयका प्रधानाध्यापक हीरालाल अर्यालले रु एक लाख नगदसहित सम्मान गर्नुभएको हो ।

आज भएको नगद पुरस्कार हस्तान्तरण तथा सम्मान कार्यक्रममा नगर शिक्षा अधिकारी कोइरालाले विद्यालय तहको पाठ्यक्रमले धेरै जिपिए ल्याउन मद्दत गरेको भए पनि नम्रता, अनुशासन र सामाजिक मूल्य र मान्यतामा विद्यार्थी कमजोर रहेको बताउनुभयो । जिपिए मात्रै सबै कुरा नभएको भन्दै आचार्यले गुणस्तरीय शिक्षा प्राप्त गर्ने प्रक्रियामा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकले जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्यालले विद्यालयको पछिल्लो पाँचवर्षे शैक्षिक गतिविधिको समीक्षा गर्दै विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो । उहाँले यस विद्यालय आफ्नो विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीका औषत जिपिए ३ दशमलव ४५ रहेको भन्दै सबैभन्दा बढी औषत जिपिए अङ्ग्रेजीमा ३ दशमलव ८० रहेको जानकारी दिनुभयो ।

गएको आइतबार सार्वजनिक भएको २०८२ को एसइईको नतिजाअनुसार जिल्लाबाट १९ जना विद्यार्थीले जिपिए ४ प्राप्त गरेका छन् । प्राविधिकसहित सामुदायिक र संस्थागत गरी जिल्लाका १४३ विद्यालयबाट पाँच हजार ६९७ विद्यार्थी एसइईमा सहभागी भएमा चार हजार १३० जना उत्तीर्ण भएका छन् । जिल्लाबाट ७२ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles